आइपिओ निष्काशन पछि रिलायबल लाइफले २५ प्रतिशत बोनस शेयर दिने, यसरी जुटाउदैछ ५ अर्ब

काठमाडौं । रिलायबल नेपाल लाइफले १५७ रुपैयाँ प्रिमियम सहित २५७ रुपैयाँको दरले आइपिओ निष्काशन गर्ने अनुमति पाइसकेको छ । कम्पनीले अवको केहि समय भित्रै वैदेशिक रोजगारमा गएका नेपालीका लागि सार्वजनिक शेयर निष्काशनका लागि आह्वान गर्नेछ ।

बीमाको इतिहासमा रिलायबल नेपालले पहिलो पटक प्रिमियममा आइपिओ निष्काशन गर्ने अवधारणा ल्याएको थियो । बैंक वित्तीय संस्था तथा अन्य बीमा कम्पनीहरुले धितोपत्र निष्काशन सम्बन्धी प्रचलित व्यवस्था अनुसार आधार मुल्यमै आइपिओ निष्काशन गर्दै आएकोमा रिलायबलले प्रिमियमको अवधारणा ल्याएको थियो । तत्कालिन समयमा नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न दिनु हुँदैन भनेर रोक्यो । धितोपत्र बोर्डको दुई वर्षको पर्खाइ पछि अन्तत कम्पनीले अनुमति पायो ।

यस अवधिमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा बीमा कम्पनीका प्रतिनिधिहरु विच धेरै पटक छलफल भयो । सबैको कुरा सुने पछि अन्तत हमाल प्रिमियममा शेयर निष्काशन गर्न दिने पक्षमा उभिए ।

कम्पनी अध्यक्ष उदय नेपाली श्रेष्ठ नेपाल सरकारका पूर्व सचिव हुन् । साथै कम्पनीको प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी बैंक वित्तीय संस्थादेखि बीमा क्षेत्रका अनुभवी र अब्बल नेतृत्वले गर्दा कम्पनीले राम्रो प्रिमियममा आइपिओ निष्काशन गर्न सफल भएको हो । कम्पनीको नेटवर्थ लगायतका सूचकका आधारमा प्रिमियम निर्धारण गरिन्छ । कम्पनीको सबल र राम्रो वित्तीय स्वास्थ्यले गर्दा नै लामो प्रतिक्षा पछि  कम्पनीले १५७ रुपैयाँ प्रिमियम सहित २५७ रुपैयाँमा शेयर बिक्री गर्ने मौका पाएको छ ।

प्रिमियममा आइपिओ निष्काशन गर्ने वित्तीकै अवका ५ वर्ष कम्पनीलाई पछाडी फर्केर हेर्नु पर्ने छैन । यहि हिसावले व्यवसायमा सुधार गर्दै यो भने कम्पनीले रिस्कबेस क्यापिटल र नियामकीय पूँजी सजिलै जुटाउन सक्ने देखिन्छ ।

कम्पनीले प्राथमिक शेयर निष्काशन गरेरै एक अर्ब ७८ करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ । हाल चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण समुह तर्फ एक अर्ब २० करोड बराबरको शेयर पूँजी हुनेछ । प्राथमिक शेयर निष्काशन गर्ने वित्तीकै कम्पनीको चुक्ता पूँजी ४ अर्ब कायम हुने छ । यस पछि न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन कम्पनीलाई २५ प्रतिशत पूँजी आवस्यक पर्छ । यो भनेको एक अर्ब मात्रै हो ।

कम्पनी सँग अहिले नै जगेडा कोषमा एक अर्ब ३४ करोड रुपैयाँ रहेको छ । प्रिमियम मार्फत कम्पनीको जगेडा कोषमा एक अर्ब ७८ करोड जम्मा हुने वित्तीकै जगेडा कोषमा कुल ३ अर्ब १२ करोड पुग्नेछ । कम्पनीले आइपिओ निष्काशन गरे लगत्तै शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर दिनेछ । यस पछि पनि कम्पनी सँग २ अर्ब भन्दा धेरै रकम कोषमा हुनेछ । यसले गर्दा अवको ३/४ वर्षसम्म कम्पनीले कम्तिमा पनि २० प्रतिशतका दरले लाभांश दिने हैसित बनाएको छ । यस अवधिमा अझ राम्रो मुनाफा गर्यो भने शेयरधनीले पाउने प्रतिफल त छदैछ ।

सर्वसाधारण समुहको एक करोड २० लाख कित्ता मध्ये ५ प्रतिशत कर्मचारी, ५ प्रतिशत म्युचुअल फण्ड, १० प्रतिशत वैदेशिक रोजगारमा गएका नेपाली र बाँकी रहेको शेयर सर्वसाधारणका लागि जारी गर्नेछ । सबैभन्दा पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि जारी गर्नेछ । त्यस पछि मात्रै सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ ।

कम्पनीले कर्मचारीहरुका लागि आधार मूल्यमै ६ लाख कित्ता शेयर बिक्री गर्नेछ । त्यस पछि सामुहिक लगानीकोषका लागि भने प्रति कित्ता २५७ रुपैयाँका दरले ६ लाख कित्ता शेयर बिक्री गर्नेछ । वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई  पनि प्रतिकित्ता २५७ रुपैयाँकै दरले १२ लाख कित्ता शेयर बिक्री गर्नेछ । यसरी सबैलाई बिक्री गरेर बाँकी रहेको ९६ लाख कित्ता भने सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरिनेछ ।