बीमाले चौतर्फी रुपमा फाइदा दिन्छः सिनियर एजेन्सी म्यानेजर धर्मेन्द्र जंग रायमाझी

काठमाडौं । विद्यार्थीमाझ नयाँ–नयाँ कुरा सिकाउने र आफू पनि सिक्ने क्रमलाई निरन्तरता दिँदै आएका छन् प्रधानध्यापक धर्मेन्द्र जंग रायमाझीले । उनी ज्ञान छर्ने कामलाई आफ्नो धर्मको रुपमा लिन्छन् । सामाजिक विषय अध्यापनको माध्यमबाट विद्यार्थीलाई समाजको बारेमा जानकारी दिने उनले बीमा क्षेत्रको बारेमा समेत जानकारी दिदै आएका छन् । बीमाको महत्व र यसले मानव जीवनमा खेल्ने भूमिकाबारे खुलेरै जानकारी दिने उनले अभिकर्ता पेशा मार्फत आम मानिसमा समेत बीमा सचेतना जगाउने काम गर्दै आएका छन् । उनी आफू अभिकर्ताको रुपमा सक्रिय छन् भने अरुलाई पनि यो क्षेत्रमा संलग्न हुन सुझाव दिन्छन् । शिक्षक पेशामा आवद्ध उनी छिट्दै रिटायर्ड लाइफ बिताउने तयारीमा छन् । जुन समय पूर्णकालिन अभिकर्ताको रुपमा सक्रिय हुने सुनौलो अवसर बन्नेमा उनी विश्वस्त छन् ।

धर्मेन्द्र सिंह विगत चार वर्षदेखि अभिकर्ता पेशामा संलग्न छन् । उनी पहिलेदेखि नै बीमा बारे जानकारी लिने, अध्ययन गर्ने गर्दथे । उनी आफू बीमाको महत्वबारे सचेत थिए, अरुलाई पनि सचेत गराउने इच्छा उनका थियो । यहि इच्छाले उनलाई अभिकर्ता बन्न प्रेरित गरायो । नेपालमा भएका बीमा कम्पनीको बारेमा अध्ययन गर्दै जाँदा उनको रोजाइमा रिलायबल लाइफ इन्स्योरेन्स पर्न गयो । उनले आफूसँगै श्रीमतीलाई पनि रिलायबल लाइफबाट अभिकर्ताको कोड लिन लगाए । दिनभर अध्यापनमा व्यस्त रहने उनी फुर्सदको समयमा भने बीमा सचेतना जगाउन व्यस्त भए । आधिकारिक रुपमा अभिकर्ता बनेपछि बीमाको बारेमा जानकारी दिन थप सहज भएको उनको भनाई छ । यसरी, समाजमा शिक्षकको रुपमा चिनिएका उनले भविष्यमा आइपर्ने आर्थिक संकटबाट जोगाउने कार्यको पनि थालनी गरे । लामो समयदेखि शिक्षक पेशामा आवद्ध उनले अबको केहि वर्षमै जागिरे जीवनबाट अवकाश लिदै छन् । अहिले पार्ट टाइमको रुपमा अभिकर्ताको काम गर्दै आएका उनले अवकाश पश्चात पूर्ण रुपमा खुलेर अभिकर्ता भइ काम गर्ने सोच बनाएका छन् । अहिले चाहेर पनि पूर्ण समय दिन नसकेका उनी अवकाशपछिको समयको पर्खाइमा छन् ।

बीमा अभिकर्ता बनेपछि उनले सुरुमा आफ्नो परिवार र भाइको परिवारको बीमा गराए । आफूसँगै आफ्नो परिवारलाई सुरक्षाको घेरामा राख्नु उनको कर्तव्यसँगै जिम्मेवारी पनि थियो । यहि सोच उनी चिनेजानेका आफन्त, साथीभाई समक्ष प्रस्तुत गर्छन् । परिवारमा हरकोहिको बीमा गराए सिंगो परिवार नै सुरक्षित हुन्छ भन्ने सोच भर्न सफल उनले थोरै समयमा नै अभिकर्ता पेशामा सफलता हाँसिल गरेका छन् । जसकारण, उनी २०२० र २०२१ मा एमडीआरटी क्वालिफाइड भएका थिए । साथै प्रत्येक वर्ष टपटेनमा पर्न सफल छन् ।

उनले अभिकर्ता बनेर बीमा बारे जानकारी दिने, बीमा गराउने काम गर्दा बाधा अड्चन भने धेरै आए । अझै पनि बीमा सम्बन्धि नकारात्मक सोच राख्ने जमात ठूलो संख्यामा छ । दलाली पेशामा संलग्न भएको भन्दै नकारात्म टिप्पणी गर्ने धेरै भेटिए । तर आफ्नो कर्मप्रति कर्मनिष्ठ भएर लागि परेका उनले सफलता पाउन धेरै टाढा पुग्नु परेन । उनले बीमा गर्न प्रस्ताव राखेको एक वर्षपछि बीमा पोलिसी लिने व्यक्ति पनि छन् । पोलिसी लिएसँगै अभिकर्ता समेत बनेको उनी बताउँछन् । यसकारण बीमाप्रति नकारात्मक सोच राख्नेहरुलाई बीमा प्रस्ताव गर्न रुचाउँछन् उनी । आज नबुझे भोलि पक्कै बुझ्छन् भन्ने सोचका साथ उनी निरन्तर बीमाको जानकारी दिने काममा लागि परेका छन् ।

बीमाले चौतर्फी रुपमा फाइदा दिने धर्मेन्द्र जंगको बुझाई छ । एक बीमितले बीमा पोलिसी खरिद गर्दै गर्दा कम्पनीको पोलिसी बिक्रि हुन्छ भने पोलिसी बिक्रि भएबापत अभिकर्ताले केहि कमिसन प्राप्त गर्छन् । बीमितले आफूलाई भैपरिआउने दुर्घटना, आर्थिक संकट एवम रक्षावरण स्वरुप पोलिसी प्राप्त गर्छन् । साथै बीमितको सिंगो परिवारको रक्षावरण समेत हुने भएको हुँदा बीमा चौतर्फी रुपमा सबैलाई फाइदा दिने माध्यम हो ।

एक सफल अभिकर्ता बन्नका लागि सुरुवातमै तालिमको आवश्यकता पर्दछ । तालिमबाटै आधारभूत ज्ञान प्राप्त हुने भएकोले बीमाबारे तालिम लिन आवश्यक रहेको उनको भनाई छ । अभिकर्ताले अध्ययनशील, विश्वासिलो र सहनशील हुन आवश्यक रहेको धर्मेन्द्रको बुझाई छ । यदि यी कुराहरुलाई ध्यान दिने हो भने एक सफल अभिकर्ता बन्न समय नलाग्ने उनी बताउँछन् । आफूलाई यी कुराहरुमा पोख्त बनाउने रिलायबल लाइफ हाकिमचोक शाखाको टिमप्रति सदैव आभारि रहने धर्मेन्द्रजंग रायमाझी बताउँछन् ।