रिलायबल लाइफको पाँचौं वार्षिक साधारण सभा सम्पन्न,आइपीओ निष्काशनको प्रस्ताव पारित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले संचालक समितिको पाँचौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा सोही मिति समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सहितका अनुसूचिहरुमाथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति निजको पारीश्रमिक तोक्ने एजेण्डा पनि पारित गरेको छ । हालको लेखापरीक्षकलाई नै पुनः नियुक्ति यर्ने योग्य भएको कम्पनीले जनाएको छ । संचालक नियुक्तिको अनुमोदन गरेको बताएको छ ।

त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र बमोजिम सर्वसाधारण शेयर ३० प्रतिशत अर्थात १ अर्ब २० करोडको आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । हाल चुक्ता पूँजी २ अर्ब ८० करोड रहेको छ । कम्पनीको आइपीओ जारी पछि चुक्ता पूँजी ४ अर्ब पुग्नेछ ।