१५ वर्षे अभिकर्ता यात्रामा वार्षिक १५ लाख कर तिर्छन् सिनियर एजेन्सी म्यानेजर बाबुराम अधिकारी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी भद्रपुर ब्रान्चमा सिनियर एजेन्सी म्यानेजरको रुपमा आवद्ध छन् बाबुराम अधिकारी । उनले यो पेशामा सक्रियाता देखाएको करिब १५ वर्ष वितेको छ । यस अवधिमा उनले थुप्रै बीमितलाई सेवा दिन सफल भएका छन् । उनको कामप्रति इन्स्योरेन्स कम्पनी र बीमित दुबैले राम्रो प्रतिक्रिया दिएका छन् । लगनशीलता र निरन्तरताले हरेक काममा सफलता दिन्छ भन्ने कुरा बाबुरामको जीवनमा अभिकर्ता यात्राले पुष्टि गरिदिएको छ । जसकारण उनले आफूलाई आर्थिक रुपमा बलियो बनाएका छन् भने समाजले उनलाई प्रेरणाको स्रोतको उपनाम समेत दिएको छ ।

सिनियर एजेन्सी म्यानेजर बाबुराम अधिकारी अभिकर्ता पेशामा संलग्न हुनुअघि वैदेशिक रोजगारीमा थिए । घर परिवारको जीम्मेवारी पूरा गर्न र आफ्नो आर्थिक पाटो बलियो बनाउन उनी परदेशीएका थिए । वैदेशिक रोजगारीमा पनि उनले राम्रै कमाइ गरिरहेका थिए । परिवारको आवश्यकता सजिलै पूरा भएको थियो, उनी पनि सन्तुष्ट नै थिए । तर पैसा कमाउनु मात्र ठूलो हो भन्ने उनलाई लाग्दैन थियो । आफन्त साथीभाईसँगै समाजले पनि बाबुराम भन्ने व्यक्तिलाई चिनोस भन्ने सोच थियो उनको । उनको यहि सोचले उनलाई नेपाल फर्किन बाध्य बनायो । नेपाल फर्केपछि आफू उपयुक्त व्यवसायको खोजीमा हिँडेका उनी अभिकर्ता पेशासँग ठोकिन पुगे । अभिकर्ता पेशाबारे समग्रमा बुझ्दा राम्रै लागेपछि उनी तीन दिनको अभिकर्ता तालिममा जोडिएर अभिकर्ता बने । उनले सबैभन्दा पहिले एशियन लाइफ इन्स्योरेन्सबाट अभिकर्ताको कोड लिएका थिए । यो कम्पनीमा राम्रै विजनेश गरेका उनले क्रमश प्राइम लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्समा पनि आफूलाई आवद्ध गराए । हरेक कम्पनीमा उनी राम्रो व्यवसाय गर्ने अभिकर्ताको रुपमा चिनिएका छन् । हाल भने उनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भद्रपुर ब्रान्चमा सिनियर एजेन्सी म्यानेजरको रुपमा सक्रिय रहेका छन् ।

बाबुराम अधिकारीले तीन दिने अभिकर्ता तालिम सकाएसँगै अभिकर्ता कोड लिएको पहिलो दिनमा नै बीमा गर्न सुरु गरेका थिए । उनले सुरुवाती दिनमै छोरा र श्रीमतीबाट बीमा सुरु गरेका थिए । पहिलो दिनमै सात वटा बीमा पोलिसी खरिद गर्न सफल भएका उनले अभिकर्ता बनेपछि कहिल्यै पछाडी फर्केर हेर्न परेन । हाल उनीसँग ३ हजारभन्दा बढी बीमित आवद्ध छन् । प्रत्येक बीमितको सुख दुखमा उभिने भएकाले उनीले बीमितप्रतिको विश्वास जितेका छन् । उनीसँग बीमा गरेका बीमितलाई समय समयमा फलोअप गरिरहन्छन् । प्रिमियम तिर्ने बेलामा होस् अथवा क्लेम परेको अवस्थामा बाबुराम नै अग्रसर भइदिन्छन् । यसकारण पनि समाजमा उनीप्रति हेर्ने नजरियामा सकारात्मकता थपिएको छ । उनी समाजमा जनसम्पर्क बढाउन चाहन्थे, चिनजान बढाउन चाहने उनको चाहना अभिकर्ता पेशाले पूरा गरिदिएको छ ।

करिब २ वर्षदेखि बाबुराम रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । उनी २०२१/०२२ र ०२३ मा एमडीआरटी क्वालिफाइड भएका थिए । टिम साथै व्यक्तिगत रुपमा समेत राम्रो व्यवसाय गर्ने सिनियर एजेन्सी म्यानेजर अधिकारीले बार्षिक रुपमा १५ देखि १६ लाख रुपैयाँसम्म टिडिएस तिर्ने गरेका छन् । यसरी वैदेशिक रोजगारीबाट फर्केर अभिकर्ता पेशामा लागेका उनले कहिल्यै पनि आफूलाई असफलताको महसुस नभएको बताउँछन् । उनी अभिकर्ता बन्दै गर्दा बीमाको बारेमा जानकारी लिन नखोज्ने आफन्त साथीभाई बीमा गर्नुपरेमा उनलाई नै खोज्दै आउने गरेका छन् । बीमितले आफ्नो परिवारमा कसैको बीमा गर्नुपरेमा उनलाई नै सम्झिने गरेको उनी बताउँछन् ।

बाबुरामको नजरमा अभिकर्ता एक कुशल, विश्वासिलो र लगनशील व्यक्तित्व हुन् । अभिकर्ताले कम्पनी र बीमितबीच पुलको रुपमा काम गर्ने भएकोले पनि निश्पक्ष हुन जरुरी छ । बीमा र आफू आवद्ध कम्पनीको हरेक सेवा सुविधा बारे जानकार हुन आवश्यक छ । बीमितले सोध्ने हरेक प्रश्नमा तार्किक रुपले जवाफ दिन सक्नुपर्ने उनको सोच छ । यसरी निरन्तरता र इमान्दारीमा अडेको पेशामा नाम, दाम र इज्जत सबै मिल्ने भएकोले अभिकर्ता पेशालाई अन्य पेशासँग दाँज्न नमिल्ने सिनियर एजेन्सी म्यानेजर बाबुराम अधिकारीको भनाई छ ।